Section 25
मोहीको हक प्राप्त हुने अवस्था
 (१) यो दफा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेद बमोजिमको मोहीको हक प्राप्त हुनेछ ।
… … …
(२)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपदफा प्रारम्भ भएपछि दफा २६ को उपदफा (१) बमोजिम मोहियानी हक प्राप्त हुनेमा बाहेक कसैले कुनै जग्गावालाको जग्गा कुनै शर्तमा कमाए बापत त्यस्तो व्यक्तिलाई सो जग्गामा मोहियानी हक प्राप्त हुने छैन ।
तर
(१) यो उपदफा प्रारम्भ हुनु अघि कसैले कुनै जग्गावालाको जग्गा मोहियानीमा कमाई जग्गावाल र मोही बीचमा दोहोरो लिखित कबुलियतनामा गरी त्यसको प्रमाणित प्रतिलिपि जग्गा रहेको गाउँपालिका वा नगरपालिकामा दाखिल गरकोे रहेछ र सो जग्गाको मोहीले यो उपदफा प्रारम्भ भएको मितिले छ महिनाभित्र त्यस्तो जग्गामा मोहियानी हक कायम गरी पाउन निवेदन दिएमा तोकिएको अधिकारीले दोहोरो लिखित कबुलियतनामा लगायत आवश्यक अन्य प्रमाण बुझि निवेदकलाई त्यस्तो जग्गामा मोहियानी हक कायम गराई दिन सक्नेछ ।
(२) यो उपदफा प्रारम्भ हुनु अघि कुनै समिति, कार्यालय वा अदालतमा मोही सम्बन्धी कुनै मुद्दा परी छिन्न बाँकी रहेका मुद्दामा यस ऐनमा तत्काल कायम रहेको व्यवस्था बमोजिम मुद्दाको निर्णय गर्नलाई यस उपदफाले बाधा पु¥याएको मानिने छैन ।
(३) मोहीयानी लागेको जग्गा बाहेक तोकिएको क्षेत्रको अरू कुनै जग्गावालाबाट भोगबन्धकीमा लिई साहूले आफैंले कमाएको रहेछ भने दफा ८ का अधिनमा रही त्यस्तो जग्गामा साहुले मोहीयानी हक प्राप्त गर्नेछ । दफा ८ मा तोकिएको अधिकतम हदभन्दा बढी हुने जति मोहीयानी हक असामीकै कायम रहनेछ ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनिः–
(क) कसैले जग्गावालाबाट कमाउन लिएको जग्गा आफ्नोे वा आफ्नोे परिवारको श्रमले नकमाई अरू कसैलाई कमाउन दिएको रहेछ भने सो जग्गाका सम्बन्धमा सो खास कमाउने व्यक्तिको बीचमा रही खाने व्यक्तिको सबै अधिकार समाप्त हुनेछ ।
(ख) मोहीले प्राप्त गरेको मोहीयानी हक तोकिएको दर्ता किताबमा दर्ता गराई राख्नु पर्नेछ ।
(५) उपदफा (१), (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिलाई मोहीको हक प्राप्त हुनेछैनः–
(क) घरवारीको जग्गा कमाउने व्यक्ति, वा
(ख) गैर नेपाली नागरिक, वा
(ग) नेपाल सरकारको स्वामित्व भएको जग्गा कमाउने व्यक्ति, वा
(घ) औद्योगिक व्यवसायको निमित्त नेपाल सरकारले तोकिदिएको जग्गा कमाउने व्यक्ति ।